तपाईलाई मुटु नजिकै पोलेको अनुभव हुन्छ ? हुन्छ भने सतर्क हुनुहोस् । यो पेटमा हुने क्यान्सरको लक्षण भएको एउटा अनुसन्धानले देखाएको छ । इंग्ल्याण्डमा हालै भएको एउटा अनुसन्धानले यसरी मुटु नजिकै पोल्नु पेटको क्यान्सरको लक्षण भएको निस्कर्ष निकालेको हो ।
यो अनुसन्धानले तीन हप्ताभन्दा मुटु नजिकै धेरै पोल्ने र खाना निल्न असहज भए डाक्टरको सल्लाह लिन सुझाएको छ । किनभने पेटमा हुने क्यान्सरको सुरुवाती लक्षणको बारेमा धेरैलाई थाहा छैन ।
डाक्टरका अनुसार क्यान्सर रोग जति छिटो पत्ता लाग्छ उपचार त्यत्ति नै सजिलो हुन्छ । त्यसैले पब्लिक हेल्थ इंग्ल्याण्डको बी क्लियर अन क्यान्सर अभियानले पेटको क्यान्सरको सुरुवाती लक्षणको बारेमा धेरैलाई जानकारी गराउदै हिँडेको छ ।
के के हुन् पेटको क्यान्सरको लक्षण ?
* तीन हप्ताभन्दा धेरै अपच हुनु
* खाना निल्न असहज हुनु
* धेरै डकार आउनु
* खाना खाँदा छिट्टै पेट भरिनु
* वान्ता आउला जस्तो हुनु वा आउनु
* पेटको माथिल्लो भागमा दुख्नु वा असुविधा महशुस गर्नु
ब्रिटिश जर्नल अफ जनरल प्राक्टिस प्रकाशित एउटा सोधपत्र अनुसार धेरैले आफूमा यी लक्षण देखा परेपनि ख्याल गर्दैनन् । किनभने धेरै मानिस क्यान्सर पुष्टि हुने डरले पनि स्वास्थ्य समस्याको बारेमा खुलेर कुरा गर्न चाहदैनन् । कोहि डाक्टरमा विश्वास गर्दैनन् त कोहि बढ्दै गएको उमेरलाई यसको कारण मान्छन् ।
यो अभियानले यी लक्षण देखिएका मानिसलाई लापरवाही नगर्न सुझाव दिएको छ । क्यान्सर भएको समयमै पत्ता लागे उपचारपनि पूर्ण रुपमा स्वस्थ हुने डाक्टर बताउँछन् ।